एउटै कार्यक्रमलाई दुईवटा बजेट

रामकुमार श्रेष्ठ/राजधानी
नवलपरासी, १६ असार

जिल्ला वन कार्यालय नवलपरासीले कावासोतीमा गराएको नर्सरीमा ज्योतिकुञ्ज सामुदायिक वन र कावासोती नगरपालिकाले डुम्लिकेसन गरेका छन् । जिल्ला वन कार्यालय नवलपरासीको सहयोगमा बनाइएको नर्सरीमा कावासोती नगरपालिकाको वातावरणमैत्री बजेटसमेत त्यहीँ लगानी गरेको देखाएर कावासोती नगरपालिका र सामुदायिक वनले डुम्लिकेसन गरेका हुन् ।

नवलपरासीको कावासोती नगरपालिका –३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनमा सामुदायिक वनका अध्यक्ष, केही पदाधिकारी र कावासोती नगरपालिकाका कर्मचारीको मिलेमतोमा यस्तो भएको हो । जिल्ला वन कार्यालयको लगानीमा सामुदायिक वनले बनाएको नर्सरीमा कावासोती नगरपालिकाको वातावरणमैत्री कार्यक्रमअन्तर्गत २ लाखले सो नर्सरी निर्माण सम्पन्न गरेको भन्दै २ लाख रुपैयाँ हिनामिना गरेको देखिएको हो । नवलपरासीको कावासोतीमा रहेको ज्योतिकुञ्ज सामुदायिक वनका अध्यक्ष र कावासोती नगरपालिकाको कर्मचारीले जिल्ला वन कार्यालय नवलपरासीले गरेको कार्य देखाई कावासोती नगरपालिकाबाट वातावरणमैत्री बजेट निकासा गरी हिनामिना गरेका हुन् ।

आर्थिक वर्ष २०७१÷७२ मा जिल्ला वन कार्यालय नवलपरासीले ज्योतिकुञ्ज सामुदायिक वनमा जिल्ला वन कार्यालयको नर्सरी (बिरुवा उत्पादन) गर्ने केन्द्र खोल्ने कार्य गरेको र त्यही कार्यलाई देखाई कावासोती नगरपालिकाको आर्थिक वर्ष २०७१÷७२ को वातावरणमैत्री कार्यक्रमअन्तर्गतको २ लाख रुपैयाँ बजेट निकाली आर्थिक दुरूपयोग गरेका हुन् ।

जिल्ला वन कार्यालय नवलपरासीले सो क्षेत्रमा लगातार दुई वर्षदेखि नर्सरी बनाउँदै आएको छ । यस वर्ष सो नर्सरीबाट ५० हजार बिरुवा उत्पादन गरिएको छ । जिल्ला वन कार्यलय नवलपरासीका अनुसार सो क्षेत्रमा नर्सरी (बिरुवा उत्पादन) केन्द्र बनाउन र तारबार गरी नर्सरी तयार गर्नका लागि पछिल्लो आर्थिक वर्षमा ४ लाख रुपैयाँ खर्च गरेको छ । सोही क्षेत्रमा अघिल्लो वर्ष जिल्ला वन कार्यालयले ४४ हेक्टर क्षेत्रफलमा तारबार गरेको थियो ।

सामुदायिक वनका अध्यक्ष रामबहादुर हमालले कहिले नर्सरीमा त कहिले तारबारमा लगानी गरेको भन्दै आलटाल गर्दै आएको छ । सामुदायिक वनका उपाध्यक्ष राजकुमार श्रेष्ठले भने नगरपालिकाबाट ल्याएको भनिएको २ लाख रुपैयाँका बारेमा समितिमा कहिल्यै जानकारी नगराइएको र सो रकम कहाँ कसरी खर्च भयो भन्ने थाहा नभएको बताए ।

कावासोती नगरपालिकाको वातावरणमैत्री कार्यक्रम शीर्षकको २ लाख रुपैयाँ वातावरण अधिकृत संगीता सुवेदी र योजना शाखा प्रमुख विनोद अर्यालको मिलेमतोमा ज्योतिकुञ्ज सामुदायिक वनका अध्यक्ष रामबहादुर हमालसहितले हिनामिना गरेको स्रोतको दाबी छ ।

ज्योतिकुञ्ज सामुदायिक वनका उपाध्यक्ष राजकुमार श्रेष्ठले अहिलेसम्मको हिसाबकिताब प्रस्ट पार्न र लेखापरीक्षण गर्न पटकपटक आग्रह गर्दा बैठकमा त्यस्ता विषयले प्रवेश नै नपाउने गरेको बताए । उनले आफूलाई यो रकम आएको बारे अहिले मात्र जानकारी पाएको बताए । कावासोती नगरपालिकाको कार्यकारी अधिकृत हरिलाल पुरीले वातावरण कार्यक्रम प्रमुख संगीता सुवेदीको सिफारिसमा सो २ लाख रुपैयाँ नर्सरी (बिरुवा उत्पादन) केन्द्र बनाउन दिएको जनाएका छन् । उनले यसमा आफ्ना कर्मचारीले घोटाला गरेको भए छानबिन गरी कारबाहीको दायरामा ल्याउने बताए ।

कावासोती नगरपालिकाको गत वर्ष ३० असारको पत्रमा ‘कावासोती–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नर्सरी निर्माणका लागि यस कावासोती नगरपालिकाबाट ईएफएलजीपी कार्यक्रमअन्तर्गत २ लाख मात्र विनियोजन भएको र हाललाई सोहीअनुसार कार्य सम्पन्न भएकाले कार्यमूल्यांकन भुक्तानीका लागि निर्णयार्थ पेस गर्दछु ।’ भनेर उल्लेख गरिएको छ । सो टिप्पणी र आदेशपत्रमा अनुमगन तथा मूल्यांकन अधिकृत संगीता सुवेदीले हस्ताक्षर गरेकी छन् भने तत्कालीन कार्यकारी अधिकृत कृष्णप्रसाद पन्थीले स्वीकृत दिएका छन् ।

पत्र काटिएको मिति र स्वीकृत मिति हेर्दा आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज हुन नदिनका लागि मात्र हतारमा बजेट विनियोजन गरेको देखिन्छ । पन्थी २२ चैत २०७२ देखि १२ असोज २०७२ सम्म करिब ६ महिना कार्यकारी अधिकृतका रूपमा रहेका थिए । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले सो नर्सरी जिल्ला वन कार्यालयको रहेको र तारबार साथै बोटबिरुवासमेत जिल्ला वनको लगानीमा गरिएको जनाए ।

ज्योतिकुञ्ज सामुदायिक वनका अध्यक्ष हमालले सो रकम तारबार र बिरुवा रोप्न प्रयोग गरेको जनाएका छन् । नगरपालिकाकी वातावरणमैत्री कार्यक्रम प्रमुख संगीता सुवेदीले आफ्नो काम पैसा बाँड्ने भएको र अनुगमन गर्ने कार्य नगरपालिकाको योजना प्रमुख विनोद अर्यालको रहेको बताएकी छन् । तर, योजना प्रमुख विनोद आर्यालले भने वातावरणमैत्री कार्यक्रमको बजेट भएकाले आफूलाई कुनै सरोकार नहुने बताएका छन् ।

यता ज्योतिकुञ्ज सामुदायिक वनका अध्यक्ष रामबहादुर हमालले नगरपालिका कार्यलयबाट कुनै नर्सरी (बिरुवा उत्पादन) गर्ने भनी पैसा नलगेको तथा सो रकम तारबार र बिरुवा रोप्न भनी लगेको जनाएका छन् । साथै, उनले रकम हिनामिनासमेत नगरेको दाबी गरेका छन् । कावासोती नगरपालिकामा भने तारबार र बिरुवा रोपेको भनी सो रकम फस्र्योट गरिएको छ, जुन कावासोती नगरपालिकाकी वातावरण अधिकृत संगीता सुवेदीले नर्सरी निर्माणका लागि दिएको आदेशविपरीत पनि रहेको छ ।

नगरपालिकाका योजना प्रमुख विनोद अर्यालले ज्योतिकुञ्ज सामुदायिक वनले काम गरेको विवरण ल्याएपछि मात्र रकम दिएको बताएका छन् । तर, सामुदायिक वनले गरेको भनिएको कार्य भने जिल्ला वन कार्यालयले निर्माण गरेको नर्सरी (बिरुवा उत्पादन) केन्द्र हो ।

प्रकाशित मिति: २०१६-०७-०१ ०९:२३ | ३८६ पटक हेरिएको