रुघाखोकीले २० को मृत्यु, १५ सय बिरामी

बिरामी नभएका घरै छैनन्, सबैको घरबाहिर १ देखि २ जनासम्म बिरामी पल्टिएको देख्न सकिन्छ, औषधि अभाव

मिमसिंह नेपाली / राजधानी
हुम्ला, १८ वैशाख

गत फागुनदेखि फाट्टफुट्ट रूपमा फैलिएको रुघाखोकीले हुम्लामा अहिलेसम्म २० जनाको ज्यान गएको छ भने सयौँ बिरामी परेका छन् । स्याँडामा ९, रायामा ७, रोडिकोटमा २ र मदनामा २ जनाको ज्यान गएको छ । गत फागुनदेखि फैलिएको रुघाखोकीले जिल्लाभरि १ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । २७ वटा गाविस भएको हुम्लामा अहिले रुघाखोकीका बिरामी नभएको गाउँ भेट्न मुस्किल छ ।

लामो समय रुघाखोकीले थला परेका बिरामीहरूको मृत्यु भएको हो । १२ वैशाखसम्ममा रुघाखोकीसँग सम्बन्धित रोगका कारण राया, स्याँडा र मदनामा मात्र मर्नेको संख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त प्रमुख अमरद्वीप देवले जानकारी दिए । उनका अनुसार रुघाखोकीको सबैभन्दा बढी प्रभावित राया गाविस बनेको छ । जहाँ एकै सातामा दुई दम्पतीसहित सातजनाको ज्यान गयो । स्याँडामा एकै घरमा तीन जनासहित नौजनाको मृत्यु भएकामा दुईजनाको बिरामी अवस्थामै लडेर मृत्यु भएको स्याँडा स्वास्थ्य चौकीका इन्चार्ज खडानन्द न्यौपानेले जानकारी दिए । ६ देखि १७ वैशाखसम्ममा मृत्यु १८ जनामध्ये अधिकांश ५० वर्षमाथिका वृद्धवृद्धा भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । कार्यालयका निमित्त प्रमुख अमरद्वीप देवका अनुसार रुघाखोकीबाट ज्यान जानेमा राया २ का ६६ वर्षीय सर्पजित रावल, ५ का ३७ वर्षीय विष्णु रावल, ६ का ६३ वर्षीय हीरा रावल, ८ का ६४ वर्षीय जस रावल, ७ का ८६ वर्षीय रिउली रावल छन् । यसैगरी, राया ८ का ६० वर्षीय चिनाकली रावल र राया–६ का ७६ वर्षीय सिरे रावलको रुघाखोकीकै कारण ज्यान गएको हो । अस्वाभाविक रूपमा फैलिएको रुघाखोकीका कारण एक साताकै अवधिमा स्याँडामा पनि सातजनाको ज्यान गएको छ । रुघाखोकीले स्याँडा–५ मा एकै घरमा ६४ वर्षीय भ्याल्ली रोकाया, ८० वर्षीय जप्ते रोकाया र ७२ वर्षीय भोटाने रोकायाको ज्यान गएको छ । लामो समयदेखि बिरामी भएका स्याँडा–५ की ९४ वर्षीया ढाली बुढा, ८ का ७५ वर्षीय पाथे शाही, ४ की ८४ वर्षीय लामती बुढा, ६ का ७२ वर्षीया भद्रवीर बुढा र ८ का ५८ वर्षीया छत्त शाहीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु भएका बिरामी लामो समयदेखि दम र पेट दुख्ने रोगबाट ग्रसित भएका थिए । मृत्यु भएकी स्याँडा–३ की ८० वर्षीया हाँसु भग्रीको लडेर ज्यान गएको दाबी जिल्ला स्वास्थ्य कार्यालयले गरेको छ । तर, स्थानीय छक्क बुढाले उनी पनि चैतदेखि रुघाखोकीले बिरामी भएको बताए । उनका अनुसार निकै थलापरेकी भग्री घर भित्रबाहिर गर्दा सामान्य लडेको र त्यसको २ दिनमै मृत्यु भएको कारण जिल्ला स्वास्थ्य कार्यालयले रुघाखोकीका बिरामी कम गराउन लडेर मुत्यु भएको भन्ने प्रचार गरेको आरोप लगाएका छन् । अन्य मृत्यु भएकाको हकमा पनि जिल्ला स्वास्थ्य कार्यालयले भनेजस्तो सबै ५० वर्षमाथिका वृद्धवृद्धा नभएको नभएको स्थानीय बुढाले बताए । मृत्यु हुनेमा १९ देखि ७५ वर्षका रहेको स्याँडा–४ का गजसेट बुढाले जानकारी दिए । ‘स्याँडामा रुघाखोका बिरामी नभएको घर छैनन्,’ स्थानीय बुढाले भने, सबैको घरबाहिर १ देखि दुईजनासम्म बिरामी पल्टिएको देख्न सकिन्छ ।’

उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा लाइनमा बसेका रुघाखोकीका बिरामीहरू ।

सुरुमा नाक, कान घाँटी दुख्ने ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने हल्का पखाला लाग्ने र श्वास फेर्न निकै गाह्रो हुने लक्षण भएको रुघाखोकीले दुईजनाको ज्यान गएको मदनामा समेत बिरामीको संख्या सामान्यभन्दा केही बढी छ । जिल्ला सदरमुकाम सिमकोटदेखि ४८ कोसको दुरीमा रहेको मदनामा सुरुमा सामान्य रोग लाग्दै स्थानीय स्वास्थ्य संस्थामा औषधि नभएकाले दुईजना बिरामीले ज्यान गुमाएका हुन् । यसैगरी, रोडिकोटमा समेत दुईजनाको ज्यान गएको छ । वैशाखको पहिलो सातादेखि फैलिएको रुघाखोकीले रोडिकोट १ की ५८ वर्षीय रिउली रोकाया र रोडिकोट ३ की ६१ वर्षीय कलनधरा रोकायाको ज्यान गएको छ । रोडिकोटमा अहिले पनि हरेक घरमा कम्तीमा एकजना बिरामी भएको राहदेवबाट कल्पना रोकायाले बताइन् । उनका अनुसार रोडिकोटको राहदेवमा मात्रै ७० जनाभन्दा बढी बिरामी छन् ।

रुघाखोकीको प्रभाव जिल्लाभरी

गएको साउन अन्तिम सातादेखि चर्को खडेरीसँगै गएको फागुनदेखि सुरु भएको अनौठो प्रकारको रुघाखोकीले जिल्लाका प्रायः गाविसमा बिरामीको संख्या निकै बढेको छ । गत फागुनदेखि फैलिएको रुघाखोकीले २७ गाविस भएको हुम्लामा बिरामीको संख्या १ हजार ५ सयभन्दा बढी छ । चीनको सीमा जोडिएको लिमीबाहेकका प्रायः सबै गाविसमा रुघाखोकीका बिरामी छन् । रुघाखोकीले जिल्लाको मध्यक्षेत्रका गाविससमेत प्रभावित भएका छन् । रोडीकोटको राहदेवमा बिरामीको संख्या पहिलेको तुलनामा निकै बढेको स्थानीय प्रकाश हमालले बताए । लामो समयदेखि रुघा फैलिएको रोडिकोटमा स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र स्वास्थ्यकर्मी पनि स्वास्थ्य संस्थामा नबस्ने गरेकाले बिरामीको संख्या बढेको हमालको दाबी छ । गएको माघदेखि औषधि नभएको रोडिकोटमा वैशाखको पहिलो साता जिल्ला स्वास्थ्य कार्यालयबाट लिएको ३६ केजी औषधिसमेत सकिएको छ । हरेक दिन ३० देखि ५० जनाका दरले बिरामी आएपछि औषधि सकिए पनि एकै महिनामा दुईपटक औषधि माग गरे जिल्ला स्वास्थ्य कार्यालयले आप्mनो नराम्रो रेकर्ड राख्ने भएकाले जिल्लामा औषधि भएको रेकर्ड पठाएको रोडिकोट स्वास्थ्य चौकीका अनमी दुर्गा हमाललाई उद्धृत गर्दै स्थानीय प्रकाश हमालले बताए । अहिले रोडिकोटमा मात्रै १ सयभन्दा बढी रुघाखोकीका बिरामी छन् । रोडिकोट नजिकैको गोठी, साँया र सर्किदेउमा समेत रुघाखोकीका बिरामी भएको जिल्ला विकास समितिकी सामाजिक परिचालक वसन्ती शाहीले बताइन् । आफू बिरामी भएर स्थानीय स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीले औषधि नभएको भन्दे फर्काउने गरेको दुखेसो गोठी–२ का मानसिंह विकले जानकारी दिए ।

मौसममा आएको परिवर्तन सँगैको रुघाखोकीले जिल्लाको दक्षिण भेगमा समेत निकै प्रभाव पारेको छ । गत फागुनदेखि सुरु भएको रुघाखोकीले श्रीनगर–१ मा मात्रै ३० जनाभन्दा बढी बिरामी भएको महिला कल्याण सेवामा कार्यरत पवित्रा देवकोटाले जानकारी दिइन् । श्रीनगरका हरेक वार्डमा २० जनाभन्दा बढीको संख्यामा रुघाखोकीका बिरामी भएको सूर्योदय उच्च माध्यमिक विद्यालयका प्राचार्य चित्र भण्डारीले जानकारी दिए । आफैँ बिरामी भएर एक सातादेखि घरमै सुतेको बताएका प्राचार्य भण्डारीले स्थानीय स्वास्थ्यसंस्थामा औषधि नभएको बताए । आफूलाई ज्वरो आएको सुरुकै दिन स्वास्थ्य संस्थामा गएको बताउँदै भण्डारीले भने, ‘श्रीनगर स्वास्थ्यचौकीमा औषधि छैन रे । सामान्य सिटामोल र डाइजिनबाहेक अन्य केही नभएको भनेर स्वास्थ्य चौकीकी अनमी उर्मिला भण्डारीले भनेपछि म सिटामोल मात्रै लिएर फर्केँ ।’

प्रकाशित मिति: २०१६-०५-०१ ०६:३४ | ३५५ पटक हेरिएको