प्रविधिको विकासमा सरकार लागेकै छैन

प्रज्ञान भट्टराई  (प्रबन्ध निर्देशक, प्लानिङ एनड रिभ्यु इन्जिनियरिङ  कन्सलट्यान्ट्स प्रालि)

प्रज्ञान भट्टराई पेसाले सिभिल इन्जिनियर हुन् । उनले भारतको केएल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका छन् । सिभिल इन्जिनियरिङ सकेर नेपाल फर्किएपछि उनले प्लानिङ एन्ड रिभ्यु इन्जिनियरिङ कन्सलट्यान्ट्स प्रालि स्थापना गरेर सिभिल इन्जिनियरिङको क्षेत्रमा काम गरिरहेका छन् । नेपाली युवाहरू भविष्यको खोजीमा विदेश पलायन भइरहेको समयमा उनी भने नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच लिएर देश फर्किएका छन् । उनले सिभिल इन्जिनियरिङकै क्षेत्रका १० भन्दा बढी रिसर्च पेपरहरू प्रकाशित पनि गरिसकेका छन् । भारतमा यसअघि नै अप्लाइड साइन्स, इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी दुईओटा सम्मेलन सम्पन्न भइसकेका छन् । ती सम्मेलनले यो क्षेत्रको विकासमा निकै ठूलो सहयोग पु¥याएको छ । नेपालमा असोजको १० र ११ गते तेस्रो सम्मेलन आयोजना गरियो । सो सम्मेलनको मुख्य आयोजक प्लानिङ एन्ड रिभ्यु इन्जिनियरिङ कन्सलट्यान्ट्स थियो भने सहआयोजक सिंगापुरको भाषा रिसर्च कर्पोरेसन थियो । सो सम्मेलन आयोजना गरिनुको उद्देश्य, त्यसले नेपाललाई पु¥याउने फाइदाजस्ता विषयमा आयोजक संस्थाका प्रबन्ध निर्देशक भट्टराईसँग राजधानीका लागि शिव सत्यालले गरेको कुराकानी

अप्लाइड साइन्स, इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी तेस्रो विश्व सम्मेलनको आयोजना गर्नुभयो, कस्तो रह्यो कार्यक्रम ?

– नेपालको सन्दर्भमा यो बिल्कुलै नयाँ सम्मेलन थियो । पहिलो र दोस्रो सम्मेलन भारतमा आयोजना भएको थियो । सो सम्मेलनमा पनि म संलग्न थिएँ । त्यसैले, कार्यक्रम आयोजना गर्नका लागि खासै समस्या थिएन । नेपालमा यस्तो सम्मेलन आयोजना नगरिएकाले उपलब्धिमूलक बनाउन सकिँदैन कि भन्ने केही डर भने लागेको थियो । जस्तो रूपमा कार्यक्रम गर्ने भनेर हामीले सोच बनाएका थियौं वा जस्तो उपलब्धि हासिल होला भन्ने हाम्रो अनुमान थियो, त्योभन्दा बढी उपलब्धिमूलक भएको हामीलाई लागेको छ । करिब २ सय प्रतिवेदन पेस गर्ने हाम्रो लक्ष्य थियो । सो सम्मेलनमा १ सय ५५ प्रतिवेदन पेस भए । करिब १४ देशका वैज्ञानिक र अनुसन्धाता सहभागी भएका थिए ।

० कुन कुन मुलुकका वैज्ञानिकको सहभागीता थियो ?

– सामान्यतया अनुसन्धान र अध्ययनका लागि विकासशील वा विकासोन्मुख मुलुकमा बढी सम्भावना हुन्छ । तर, अनुभव र स्रोतसाधन बढी हुने भएकाले विकसित देशका अनुसन्धाताले बढी अनुसन्धान गरेको पाइन्छ । सो सम्मेलनमा अमेरिका, इन्डोनेसिया, भियतनाम, जापान, अस्ट्रेलिया, भारत, श्रीलंका र चीनजस्ता मुलुकका वैज्ञानिक र अनुसन्धाताको सहभागिता थियो । यस्तै, नेपालबाट त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूले कार्यपत्र पेस गरेका थिए । एसिया महादेशका सात मुलुकका प्राध्यापक, वैज्ञानिक र अनुसन्धाता सहभागी भएका थिए ।

० सम्मेलनमा कस्तो प्रकारका कार्यपत्र पेस भएका थिए ?

– सामान्यतया यस्ता सम्मेलनमा आफँैले अध्ययन गरेर पत्ता लगाएका तथा अरूले अध्ययन गरेर पत्ता लगाएका विषयको समीक्षा गर्ने गरी दुई प्रकारका कार्यपत्र पेस गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । हामीले आयोजना गरेको तेस्रो विश्व सम्मेलनमा पेस भएका १ सय ५५ कार्यपत्रमध्ये करिब ९० ओटा त आफँैले अध्ययन गरेर पत्ता लगाएका नयाँ विषयका कार्यपत्र थिए । जस्तो ग्रिन हाउस टेक्नोलोजीसम्बन्धी कार्यपत्र पनि पेस भएको थियो । यो नयाँ विषय हो । इन्जिनियरिङका सबै आधारभूत मापदण्ड पूरा गरेर पनि कसरी कम लागतमा घर निर्माण गर्न सकिन्छ भन्ने विषय सो कार्यपत्रमा थियो । हामीले सिभिल इन्जिनियरिङ विषयलाई बढी प्राथमिकता दिएका थियौं । यस्तै अप्लाइड साइन्स र प्रविधिसम्बन्धी कार्यपत्र पनि नआएका भने होइनन् ।

० के कस्तो उद्देश्य राखेर यो सम्मेलन आयोजना गरिएको थियो ?

– हाम्रो प्रमुख उद्देश्य भनेको विश्वका विभिन्न मुलुकका अनुसन्धातालाई नेपालमा ल्याएर नेपालमा पनि यसको सम्भावना छ भन्ने जानकारी गराउनु थियो । उनीहरूले पत्ता लगाएको प्रविधि नेपालमा प्रयोग गर्न कत्तिको सहज छ भन्ने विषयमा पनि जानकारी गराउनु थियो । सम्मेलनमा भएको छलफलले विकसित मुलुकका अनुसन्धाताले पत्ता लगाएको प्रविधि नेपालमा पनि लागू गर्न सकिने देखियो । विकसित देशका अनुसन्धाताले गरेको अध्ययन नेपालमा लागू गर्ने हो भने विकासको क्षेत्रमा धेरै काम गर्न सकिने अवस्था देखियो ।

० अघिल्ला दुई विश्व सम्मेलनमा पनि तपाईं आयोजककै हैसियतमा हुनुहुन्थ्यो, ती सम्मेलन र अहिलेको सम्मेलनमा के भिन्नता पाउनुभयो ?

– यसअघि दुईओटा सम्मेलन भारतमा आयोजना गरिएको थियो । ती सम्मेलनमा करिब ५ सय कार्यपत्र पेस भएका थिए । करिब ३० देशका प्रतिनिधि सहभागी भएका थिए । सो सम्मेलनमा प्रस्तुत कार्यपत्र विश्वका राम्रा जर्नलमा प्रकाशित भएका थिए । नेपालमा आयोजना भएको सम्मेलनमा त्यो संख्या घट्यो । यसरी घट्नुको कारण के हो त भन्ने विषयमा हामीले केही बुझ्ने प्रयास पनि गरेका थियांै । नेपालमा रिसर्च र डेभलमेन्टको क्षेत्रको राम्रोसँग विकास नभैसकेकाले त्यहाँ गएर हामीले सिर्जनात्मक सोच किन प्रस्तुत गर्ने भन्ने पनि केही अनुसन्धातामा रहेको पाइयो । यस्तै, सुरक्षा तथा अन्य समस्याका कारण पनि सोचेअनुसारका सहभागी आउन सकेनन् । देशको समस्याकै कारण सम्मेलनले अपेक्ष गरिएअनुसारको उपलब्धि हुन सकेन । तर, पनि यस्तो प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनमा ५० भन्दा बढी कार्यपत्र पेस हुनु नै ठूलो उपलब्धि हो । करिब १२ प्रतिवेदन वैज्ञानिकले नै पेस गरेका थिए । सम्मेलनमा २ सय १० जना सहभागी थिए । यसमध्ये १० जना त प्रख्यात वैज्ञानिक थिए । करिब ६० जना विश्वका नाम चलेका प्रख्यात विश्वविद्यालयका प्राध्यापक थिए । बाँकी सहभागीहरुमध्ये करिब सय जना विद्यावारिधि गरिसकेका व्यक्तित्वहरू थिए भने बाँकी सहभागी आआफ्नो क्षेत्रमा विद्यावारिधि गर्दै गरेका विद्यार्थी थिए । नेपालबाट चारओटा कार्यपत्र प्रस्तुत भएका थिए । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

० विज्ञान र प्रविधिको क्षेत्रमा काम गरिरहेका भनिएका सरकारी निकायको कस्तो सहयोग प्राप्त भयो ?

– हामीले जुन उद्देश्य राखेर सम्मेलन आयोजना गर्न लागेका थियौं, त्यो विषयको हामीले सबै सरोकारवालालाई जानकारी गरायौं । उनीहरूले हाम्रो कुरा सुने तर सहयोग गरेनन् । सरकारी निकायका अधिकारीको संस्थागत प्रतिनिधित्व भने रह्यो । जस्तो त्रिभुवन विश्वविद्यालयबाट प्रतिनिधि आएका थिए । यस्तै, नेपाल विज्ञान प्रविधि प्रतिष्ठानबाट पनि प्रतिनिधि आएका थिए । कार्यक्रम सकिएपछि उनीहरूले राम्रो कार्यक्रम रहेछ भनेर हौसला प्रदान गरे । नेपालमा अझै पनि यो प्रकारको अनुसन्धानलाई प्राथमिकता दिने नगरिएकाले विभिन्न प्रकारका समस्या होलान् । यसै कारण उनीहरूले चाहेर पनि हामीलाई सहयोग गर्न नसकेका होलान् भन्ने हामीले महसुस गरेका छौं । कुनै निकायका अधिकारीले भने खास चासो पनि दिएनन् । यो उनीहरूको व्यक्तिगत समस्या हो वा संस्थागत समस्या हो त्यो बुझ्न सकिएन । यस्तो प्रकारको कार्यक्रमको आयोजना राज्यले गर्नुपर्ने हो तर, हामीले ग¥यौं । राज्यले केही सहयोग गरेको भए अझ राम्रो हुने थियो । तर, पनि कार्यक्रमको उद्घाटनमा संचारमन्त्री डा. मीनेन्द्र रिजाल आएका थिए । उनलाई विभिन्न विकसित देशबाट आएका वैज्ञानिकले आफ्नो देशबाट विज्ञान प्रविधिको विकासका लागि सहयोग बढाउन आफूहरूले थप प्रयास गर्ने जानकारी पनि गराए । नेपालमा धेरै गर्न सकिने अवस्था रहेछ भनेर विभिन्न देशका वैज्ञानिकले चासो पनि देखाए । हाम्रो कार्यक्रममा सहभागी भएका एकजना प्राध्यापक वा वैज्ञानिकको अधीनमा कम्तीमा पनि ५ सयजना विद्यार्थीले विद्यावारिधि गरिरहेका हुन्छन् । जस्तो कार्यक्रमा सहभागी हुन भारतबाट आएका जेएस राव प्रधानमन्त्रीको सल्लाहकार पनि भैसकेका व्यक्तित्व हुन् । यस्तै, उनले अमेरिकी दूतावासमा पनि अनुसन्धाताका रूपमा काम गरिसकेका थिए । राव भारतका प्रख्यात वैज्ञानिक मानिन्छन् । यस्तै जापानबाट प्राध्यापक सूची टोरीले भाग लिएका थिए । उनी जापानको कुमामोटो विश्वविद्यालयको अन्तराष्ट्रिय विभागका प्रमुख हुन् । अनुसन्धानको क्षेत्रमा उनी नाम चलेको व्यक्तित्व हुन् । अमेरिकाबाट भाग लिने प्राध्यापक आम्दे मेरिल्यान्ड विश्वविद्यालयको सिभिल विभागको प्रमुख हुन् । उनी पनि ठूलो वैज्ञानिक हुन् । यस्तै, सम्बन्धित क्षेत्रका विज्ञ र विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।

० सम्मेलनमा जस्ता कार्यपत्र पेस भए र जस्तो विषयमा छलफल भयो त्यसबाट नेपालले तत्काल फाइदा लिन सक्ने अवस्था छ त ?

– पहिलो कुरा त जस्तो प्रकारका कार्यपत्र पेस भए ती कार्यपत्र वा अनुसन्धाताले पत्ता लगाएको विषय अति नै विकसित देशको सन्दर्भमा गरिएको अध्ययन वा अनुसन्धान हो । त्यसैले उनीहरूले पत्ता लगाएको विषय नेपालमा तत्काल लागू गर्नका लागि बजेटदेखि विभिन्न विषयको समस्या हुन्छ । विकसित देशका वैज्ञानिकले पत्ता लगाएको विषय नेपालमा कसरी लागू गर्न सकिन्छ भनेर नेपाली वैज्ञानिकले अध्ययन गर्नुपर्ने हुन्छ । जस्तो नेपालमा अहिले हामीले सडक कालोपत्रे गर्छौं । त्यो कालोपत्रे चाँडै नै भत्कन्छ । यही विषयमा एकजना अनुसन्धाताले लामो अध्ययन गरेर कार्यपत्र पेस गरेका थिए । चाँडै कालोपत्रे भत्कनुको कारण जमिनमुनिको माटोको कारणले हो । उनले पेस गरेको कार्यपत्रमा प्लास्टिकजस्ता फालिने वस्तु कालोपत्रे गर्ने सडकको पहिलो सतहमा राख्ने र त्यसमाथि कालोपत्रे गर्दा दिगो हुने तथ्य पत्ता लगाइयो । यस्ता अध्ययनमा नेपालले तत्काल फाइदा लिन सक्ने अवस्था रहन्छ । यस्तै अर्काे कार्यपत्रमा ग्रिन टेक्नोलोजीको विषय थियो । हामी नेपालीलाई घर बनाउन निकै खर्चिलो हुन्छ । ग्रिन टेक्नोलोजीसम्बन्धी कार्यपत्रमा परालको घर बनाउने विषय थियो । सो कार्यपत्रमा इन्जिनियरिङ मापदण्ड सबै पूरा गरेर सिमेन्टेड घरजस्तै बनाउन सकिने कुरा सो कार्यपत्रमा थियो । नेपालको सन्दर्भमा यो पनि लागू गर्न सकिने विषय थियो । सम्मेलनमा पेस भएका १ सय ५५ कार्यपत्रमध्ये सयओटामा लेखिएको विषय नेपालमा सजिलै कार्यान्वयन गर्न सकिने विषयवस्तुमा आधारित थिए ।

प्रकाशित मिति: २०१४-१०-१२ १५:२६ | २८८३ पटक हेरिएको