जिल्लास्तरीय ट्रफीको उपाधि युथ एकेडेमीलाई

राजविराज÷रास– ड्रिम नेपाल अन्तर क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गतको सोमबार सम्पन्न अन्तिम तथा फाइनल खेलमा युथ एकेडेमी राजबिराजले सबल नेपाललाई रोमाञ्चक खेलमा ७ रनले पराजित गर्दै ट्रफीको उपाधि पाएको छ ।

सप्तरी सुपर किंगस, लायन्स एकेडेमी र योग ११ बरहि वीरपुुरको संयुक्त आयोजना तथा सप्तरी क्रिकेट संघ र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा आयोजित खेलमा युथ एकेडेमीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा १ सय ३१ रनको योगफल तयार पारेका थिए । युथ एकेडेमीका लागि अमित यादवले ३२, जय चौधरी १८, जय चौधरी १८, विवेक यादव १५ तथा जय चौधरीले १८ रनको योगदान दिएका थिए । बलिङतर्फ सबल नेपालका पुष्पेन्द्र झा र शैलेन्द्र मण्डलले सामान २ विकेट तथा विजय मण्डल र विकास दासले सामान १ विकेट लिएका थिए ।

१ सय ३२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सबल नेपालले २० ओभरमा आफनो सम्पूर्ण विकेट गुमाई १ सय २४ रन मात्र बनाउन सकेपछि हार बेहोरेको थियो । सबलका लागि अविनाश कर्णले ४६ बलमा ८ चौक्काको मद्दतले ५८ रन तथा डिकराज परियार र विजय मण्डलले क्रमशः २० र १३ रनको योगदान दिएका थिए । बलिङतर्फ युथ एकेडेमीका जय चौधरीले ३ तथा जितेन्द्र यादव र विवेक यादवले समान १ विकेट र असन जमलले १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच युथ एकेडेमीका जितेन्द्र यादव घोषित भएका थिए ।

प्रतियोगिताअन्र्तगत प्रभावशाली प्रदर्शन गरेबापत युथ एकेडेमीका असन जमललाई प्रतिभावान् खेलाडीका रूपमा सम्मान गरियो भने उत्कृष्ट बलर सबल नेपालका विकास दास, उत्कृष्ट ब्याट्सम्यान युथ एकेडेमीका जय चौधरी तथा प्रतियोगिताका उत्कृष्ट खेलाडी योङ–११ बरही वीरपुरका उपेन्द्र राय घोषित भएका थिए ।

प्रकाशित मिति: २०१५-११-१७ ०९:०६ | १७२ पटक हेरिएको