गाउँ पुगेका सीडीओसमक्ष गुनासोकोे चाङ

दिनेश थापा/राजधानी
सिन्धुपाल्चोक, १२ फागुन

अघिल्लो साल पहिरोले बास खेद्यो, दुःख गरी बनाएको एउटा छाप्रो भुइँचालोले लग्यो । जुरे पहिरोपीडितलाई भूकम्पपीडित परिचयपत्र दिइएन । सीडीओ साब, परिचयपत्र नपाउँदैमा हामी भूकम्पपीडित हुँदैनौं त ?

ड्याम साइडको वन साँघु माध्यमिक विद्यालयमा एमाले भातृ संगठन युवा संघले भूकम्पपछि अस्थायी सिकाइ केन्द्र बनाइदियो । तर, त्यही सिकाइ केन्द्रका नाममा सेभ द चिल्ड्रेनले खर्च देखायो । अरूले बनाइदिएको सिकाइ केन्द्रलाई देखाएर सेभ द चिल्ड्रेनले आर्थिक अनियमितता ग¥यो ।


यी गुनासो मांखा गाविसको म्याग्नेसाइटमा बुधबार आयोजित छलफलमा उठेका हुन् । भूकम्पपीडितका समस्या र गुनासो सुन्न मांखा पुगेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोकर्णमणि दुवाडीसामु पीडितले यस्तै यस्तै गुनासोको चाङ लगाए । एकाउनटबिलिटी ल्याब, लोकल इन्रभेन्सन गु्रप, रेडियो मेलम्ची र रेडियो सिन्धुद्वारा आयोजित छलफलमा पीडितले गुनासो मात्र सुनाएनन्, संघ संस्थाले पीडितप्रति गरेका व्यवहारको पनि खुलेर असन्तुष्टि जनाए ।

जुरे पहिरो र भूकम्पपछि मांखा गाविसमा राहतको जिम्मा लिएको सेभ द चिल्ड्रेनप्रति सामुदायिक छलफलमा सहभागी पीडित खनिएका थिए । राहत वितरणमा असमानता, अनियमितताका कुरा सो क्रममा प्राथमिकताकासाथ उठे । पीडितका गुनासाले सेभ द चिल्ड्रेनका जिल्ला प्रबन्धक अनुज प्रधान असिनपसिन भए । पीडितले उठाएका सवालको उनले जवाफै दिन सकेनन् र गाविस सचिव शेषमणि खतिवडाले जवाफ दिनुप¥यो ।

पीडितको गुनासो सुन्न गाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी दुवाडीले पनि संघ÷संस्थाले गरेका कामप्रति असन्तुष्टि जनाउँदै पारदर्शी हुन निर्देशन दिए । पीडित बसेकै स्थानमा जिल्लाका सरकारी प्रमुख पुगेपछि जुरे र भूकम्पबाट पीडितले जिज्ञासा मात्रै राखेनन् तत्काल समाधानको अपेक्षा पनि गरे ।

सो क्रममा भूकम्पपछि जिल्लामा भित्रिएका संघ÷संस्थाले राहतका नाममा अर्बांै रुपैयाँ खर्च गरिसकेका छन् तर पीडितको पीडा भने अझैपनि उस्तै रहेको जनाए ।

मांखा–१ स्थित वनसाँघु माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र बनाएका भनि सेभ द चिल्ड्रेनले अनियमितता गरेको पीडित स्थानीय रामबहादुर तामाङले आरोप लगाए । एमाले युवा सघले सो विद्यालयमा बनाइदिएको सिकाइ केन्द्र देखाएर सेभ द चिल्ड्रेनले प्रतिवेदन बनाएको उनले आवाज उठाए ।

‘हामी सबैलाई थाहा छ, वनसाँघुमा युवा संघले सिकाइ केन्द्र बनाइदिएको हो,’ कार्यक्रममा उनले भने, ‘तर, त्यही सिकाइ केन्द्र बनाएको भनेर सेभ द चिल्ड्रेनले खर्च देखाएको छ ।’ उनले भने, ‘जुरे पहिरो पीडित र भूकम्पपीडितलाई संघ÷संस्थाले राहात दिएको भन्ने सुने, मेरो परिवारमा नौजनाको मृत्यु भएको छ, खै मैले त राहत पाएको छैन ।’

सिंगो गाविसमा राहतको जिम्मा लिएर दस महिनासम्म सेभ द चिल्ड्रेनले केही नगरेको स्थानीय अशोक महर्जनले बताए । एकसरो पाल र एक थान किचन किटबाहेक सेभ द चिल्ड्रेनबाट केही नपाएको पीडितले बताए ।

जिल्ला विकास समितिका निवर्तमान सभापति एवं एमाले नेता सुरेश नेपालले भूकम्पपछि जिल्लामा धेरै संघ÷संस्था आए पनि उनीहरू अपारदर्शी रहेको आरोप लगाए । पीडितका वास्तविक आवश्यकता पहिचान नगरी संघसंस्थाले राहत दिँदा पीडितले राहतको महसुस गर्न नसकेको नेता नेपालले बताए ।

पहिरोपीडितका नाममा सरकारी खातामा २ करोड रुपैयाँ बढी जम्मा भएता पनि पहिरोको २० महिना बितिसक्दा पनि पीडितले नपाउनु दःुखद भएको उनले बताए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले योजना स्वीकृत तथा सम्झौता नगरी कार्यक्षेत्रमा नजान संघसंस्थालाई निर्देशन पनि दिए । उनले संघसंस्थालाई राहतका कार्यक्रम र खर्च विवरण मागिएको जानकारी पनि दिए ।

जुरे पहिरोपीडितका नाममा २ करोड २४ लाख रुपैयाँ जम्मा भए पनि गृह मन्त्रालयले खाता रोक्का गर्दा पीडितलाई सो रकम उपलव्ध गराउन नसकिएको उनले बताए । ‘भूकम्पका कारण जुरे पहिरो छायाँमा पर्न गयो’, उनले भने, ‘मैले आफ्नो ठाउँबाट पहिरो पीडितका समस्या समाधानका लागि पहल र प्रयत्न गरिरहेको छु ।’ जुरे पहिरोपीडितलाई यथाशिघ्र भूकम्पपीडित परिचयपत्र प्रदान गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति: २०१६-०२-२५ ०५:२९ | ६२७ पटक हेरिएको