© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - ११
काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री माधवकुमार नेपालसँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक जटिलताका बारेमा छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको सो छलफलमा माओवादी अध्यक्ष दाहालले अनमिनको म्याद, नेपाली सेनाको पछिल्लो सक्रियता सम्बन्धमा पार्टीको धारणा राखेका थिए ।
अध्यक्ष दाहालले अनमिनको म्याद थपको विपक्षमा नेपाली सेनाले देखाएको सक्रियताप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै पछिल्ला दिनमा कतिपय दलका जिम्मेवार नेताले नै राष्ट्रपतिले शासन लिनुपर्छ भन्ने हल्ला गरिरहेकाले त्यसले राष्ट्रपति सक्रिय हुन खोजेको हो कि भन्ने आशंका उब्जिएकाले प्रष्ट पार्न आग्रह गरेका थिए ।
अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठाइएकोमा माओवादी शीर्ष नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै सो अवसरमा प्रधानमन्त्रीले भने– ‘अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठ्नु गलत हो । त्यो अब नेपाली जनतालाई स्वीकार्य छैन । पानी धमिलो पारेर माछा मार्नेहरु देखापर्न सक्छन् । तर हामी (दलहरु) मिलेरै त्यो पानी सङ्लो पार्नुपर्छ ।’
उनले दलहरुको पछिल्लो गतिविधिबाटै जनतामा निराशा छाएकाले शान्ति प्रक्रिया र संविधान निर्माणमा यथाशीघ्र सहमति गरेर समाधान पनि दलहरुले नै दिनुपर्नेमा विशेष जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्रीले माओवादीले देखाएको चासो र चिन्ताप्रति धन्यवाद दिँदै सरकार र राजनीतिक दलहरु लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए ।
पछिल्ला दिनमा लोकतान्त्रिक गणतन्त्र र यसका उपलब्धिविरुद्ध राजतन्त्रवादीहरु सक्रिय हुन लागेकाले सबै राजनीतिक दलहरु सचेत हुनुपर्ने भनाइ थियो ।
‘गणतन्त्रविरुद्ध राजतन्त्रवादी शक्तिहरु सक्रिय हुन लागेकाले हामी सबै सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री नेपालले नेपाली सेना सदैब लोकतन्त्रको पक्षमा रहेको र सधैँभरि ब्यारेकमा मात्रै रहने अवस्थाबाट राष्ट्रिय सेनालाई अविलम्ब मुक्त गर्नुपर्नेमा जोड थियो ।
लोकतन्त्रप्रति सेनाको निष्ठा छ, नेपाली सेनाले सरकारको निर्देशन पालना पनि गर्दै आएको बताउँदै राष्ट्रपति र नेपाली सेना दुवै संस्थाप्रति आशंकित नहुन प्रधानमन्त्रीले माओवादी शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको सल्लाहकार रिजालले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियाप्रति एनेकपा (माओवादी)ले देखाएको अरुचि र विगतका कुनै पनि प्रतिबद्धता पूरा नगरेकाले अन्य राजनीतिक दल र आम जनतामा माओवादीप्रति नै गम्भीर आशङ्का रहेको बारे माआवादी नेतृत्वको ध्यानाकर्षण गराए ।
मुलुकको अहिलेको अवस्थाप्रति गम्भीर बन्न माओवादीलाई आग्रह गर्दै सरकार छिट्टै बनोस् भन्ने आफ्नो चाहना रहेको र मुलुकलाई असफल हुन नदिन दलहरु सबै मिलेर अगाडि बढ्नुको कुनै विकल्प नरहेको प्रधानमन्त्रीले उल्लेख गरेका थिए ।
राष्ट्रिय सेनालाई अरु कुनै पनि पक्षसँग तुलना गर्ने कुरा न्यायोचित नहुने जनाउँदै प्रधानमन्त्री नेपालले त्यसमा माओवादी पनि स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा प्रधानमन्त्री नेपालसहित गृहमन्त्री भीम रावल, शान्ति तथा पुनर्निमाणमन्त्री रकम चेम्जोङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्त सहभागी थिए । माओवादीका तर्फबाट अध्यक्ष दाहालसहित उपाध्यक्षत्रय मोहन वैद्य, डा बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
रासस
Comments0
Leave Comments